७. ऐनको दफा ११ बमोजिम दिएको सूचनाको जाँचबुझ
(१) ऐनको दफा ११ बमोजिम कुनै व्यक्तिले कर अधिकृत छेउ सूचना दिएकोमा कर अधिकृतको सूचना अनुसार सो व्यत्ति आफै वा निजको वारिस उपस्थित हुन आएमा कर अधिकृतले सनाखत गरी निजसँग रहेको सबूद प्रमाण सबै बुझ्नेछ । निज वा निजको वारिस उपस्थित हुन नआएमा कर अधिकृतले आफनो मातहतको कर इन्स्पेक्टरद्वारा बुझ्न लगाउनेछ । यसरी बुझी आएको व्यहोराबाट कारवाई चलाउनु पर्ने भन्ने कर अधिकृतको विचारमा लागेमा निजले आवश्यक कारवाई चलाउनेछ । कारवाई चलाउनलाई पर्याप्त सबूद प्रमाण छैन भन्ने लागेमा छोटकरीमा आफ्नो ठहर व्यक्त गरी त्यस्ता सूचना दिने व्यक्तिको रिकर्ड आफनै कार्यालयमा राख्नु पर्छ ।
(२) उपनियम (१) बमोजिम प्राप्त हुन आएको सूचना बमोजिमको कुरा साँचो ठहरी सो बमोजिम कर असूल उपर भएमा ऐन बमोजिम पाउने इनाम दिनालाई कर अधिकृतले कर विभागको डाइरेक्टर मार्फत प्रतिवेदन पेश गर्नेछ ।
(३) कुनै व्यक्तिले एक पटक सूचनासम्म दिई पछि बोलाएको बखत कर अधिकृत कहाँ उपस्थित हुन आएन वा वारिस पनि पठाएन वा निज वा निजको वारिस उपस्थित भए तापनि कुनै सबूद प्रमाण पनि पेश गरेन भने त्यस्ता व्यक्ति इनामको हकदार हुनेछैन ।